काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् ।
कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।
यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’
तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’
एमसीसी संसद्मा पेस गर्ने
प्रधानमन्त्री देउवाले एमसीसी संसद्मा छलफल गर्नुपर्ने बताएका छन्। देउवाले संसद्मा एमसीसी छलफल गर्न प्रस्तुत गर्दैमा पारित भएको रुपमा बुझ्न नहुने धारणा राखे।
प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओली सत्तामा रहँदा एमसीसीको पक्षमा बोलेको स्मरण गर्दै देउवाले हाल उनको बोली फेरिएको सांसदहरुलाई सुनाएका थिए। अमेरिकी सेना आउने अनावश्यक हल्ला फिंजाएकोप्रति देउवाले आपत्ति जनाएका थिए।
एमसीसी अनुदान लिएका कतिपय देशले पुनः सम्झौता अघि बढाएको पनि उनले सुनाएका थिए। अनुदानमा प्राप्त हुने रकमलाई संसद्बाट पारित गर्नुपर्ने ‘अनावश्यक झन्झट’ राखिएकोप्रति उनको असन्तुष्टि थियो।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको समयमा एमसीसीको विषय सुरु भई आफ्नो कार्यकालमा सम्झौता भएको उनले स्मरण गरे। पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले संसद्बाट पारित हुनुपर्ने प्रावधान थपेको उनको भनाइ थियो।
दलहरुबीच छलफलको वातावरण संसद्मा बन्ने भएकाले एमसीसी पेस गर्नुपर्ने तर्क अन्य सांसदले पनि उठाएको बताइएको छ।