काठमाडौँ- जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत र्याण्डी बेरीबिच भेटवार्ता भएको छ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन एमसीसी पारित गराउनका लागि बाबुराम भट्टराईलाई लबिङ गरिदिन आग्रह गर्नका लागि राजदूत बेरीले भेटेको दूतावास स्रोतले जानकारी दिएको छ ।
अहिले एमसीसी पारित गराउनका लागि सत्तारुढ गठबन्धनबीच सहमति जुटाउन पहल भैरहेको छ। एमसीसी संसदबाट पारित हुनुपर्ने व्यवस्था छ। आजदेखि प्रतिनिधि सभाको अधिवेशन सुरु हुँदैछ । संसदको अधिवेशन सुरु हुने पहिलो दिन नै अमेरिकी राजदूतले भट्टराईलाइ भेटेर एमसीसी पारित गराउन आग्रह गरेका हुन्।
बुधबार राजधानीको होटल मेरियटमा भेटवार्ता भएको हो । एमसीसी पारित गराउनका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवा प्रयासरत छन् । एमसीसी सम्झौताको सुरुवात पनि देउवाको यसअधिको कार्यकालमै भएको थियो । त्यसतिबेला तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता गरेका थिए ।
भाेली (विहिबार) एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आउने कार्यक्रम छ । एमसीसी टोली काठमाडौं आउनुअघि राजदूत बेरीले एमसीसीमा समर्थन जुटाउन भेटवार्ता थालेका हुन् ।
यो परियोजना अन्तर्गत अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। तर यो परियोजना आएपछि नेपालमा अमेरिकी सेना आउने लगायतका तर्क गर्दै यसको विरोध भइरहेको छ ।