काठमाडाैं- अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) को टोलीले शुक्रबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली भेटवार्ताका लागि बिहानै प्रचण्ड निवास (खुमलटार) पुगेको हो। झन्डै १ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले आफूहरू एमसीसी पासका लागि दबाब दिन नआएको बताइन्। यस्तै अध्यक्ष प्रचण्डले नेपालमा यो विषय विवादित भएकाले राष्ट्रिय सहमति गरेर मात्र यो विषय अगाडि बढाइने बताए।
यस्तै एमसीसी उपाध्यक्ष सुमारले पनि आफूहरू आउँदा एमसीसी पासका लागि दबाब दिन आएको भन्ने अर्थमा बुझिएको गुनासो गरिन्।
‘भेटमा अध्यक्षले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताउनुभयो,’ प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताउनुभयो।’
प्रचण्डको सचिवालयका अनुसार भेटमा एमसीसी उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताइन्। विज्ञप्तिमा भनिएको छ, ‘यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउनु हुँदै सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको उहाँ (सुमार) को धारणा थियो।’
एमसीसी टोलीले आजै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले आएकै दिन बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली तथा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरिसकेको छ।
बिहीबार बिहान विमानमार्फत काठमाडौं आइपुगेको एमसीसी टोली हरेक राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेट गरिरहेको हो। टोली आएको दिनदेखि ४ दिनसम्म नेपाल भ्रमणमा रहेनछ। प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि संसदबाट पारित गर्ने तयारीमा छन् भने सत्ता गठबन्धनकै माओवादी केन्द्र र एकीकृत समाजवादी भने एमसीसीलाई जस्ताको तस्तै स्वीकार गर्न नसकिने अडानमा छन्।