काठमाडौं- कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ ।
शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री शर्माले चालु खर्च अन्तर्गतका बैठक भत्ताहरूमा खर्च कटौती गर्ने र यसबाट उब्रिएको ५ अर्ब कोभिडमा खर्च गरिने बताएका छन् ।
यसैगरी मिर्गौला तथा मेरुदण्डका दीर्घरोगीलाई ५ हजार रूपैयाँ भत्ता दिइने भएको छ । यसअघि देउवा नेतृत्वकै सरकारले यो निर्णय गरेको भए पनि कार्यान्वयनमा आएको थिएन ।
विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।
उनले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’