काठमाडौं- प्रधानमन्त्री शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए ।
‘यहाँका दलहरुले एमसीसीबारेमा कति पनि कुरै बुझेनन्। यिनीहरु अबुझ हुँदा साह्रै गाह्रो भयो’, कांग्रेस सभापतिसमेत रहेका देउवाले अमेरिकी टोलीसँग भने, ‘नेपालका अरु पार्टीले यो विषयमा बुझेकै छैनन्। त्यहीकारण मलाई गाह्रो भएको छ।’
देउवाले संवादका क्रममा करिब ६० अर्ब अनुदान प्राप्त हुने एमसीसी परियोजना संसदबाट अनुमोदनका लागि केही समय कुरिदिन उपाध्यक्ष सुमारसँग आग्रह गरेका थिए।
‘तपाईंहरुले केही समय पर्खिदिनुस्, म मिलाएर पास गर्छु’, देउवाले अगाडि भने, ‘आई विल डु दिस्, म जसरी पनि पास गर्छु।’
उपाध्यक्ष फातिमाले भनिन् : अब कुर्न सक्दैनौँ, पास गर्ने नगर्ने टुंगो गर्नुस्
एमसीसीका उपाध्यक्ष सुमारले अब कुर्न सक्ने समय नरहेको भन्दै तत्कालै पास गर्न आग्रह गरेकी थिइन्। भेटमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष फातिमाले अब अनुमोदन हुन्छ या हुँदैन भन्ने भाषामा आफूहरुलाई उत्तर चाहिएको बताएकी थिइन्।
‘अब त धेरै ढिला भइसक्यो, हामी पर्खिने अवस्थामा छैनौँ’, उनले देउवासँगको छलफलमा भनिन्, ‘अब हामीलाई ‘एस, नो’ मा उत्तर दिनुस्।’
उपाध्यक्ष सुमार बिहीबार काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।