काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको कम्युनिस्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिस्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनुपर्ने आवश्यक्ता औंल्याए।
‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आईतबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालको कम्युनिस्ट पार्टी भित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्ने प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता कार्यलाई निस्तेज पारेर अघि बढनुको विकल्प नरहेको धारणा राखे।
‘आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैर कम्युनिस्ट प्रवृत्ति देखाइरहेको हामी हेरिरहेका छौं। अनी सत्तामा पुगेपछि अहंकार घोडा चढने प्रवृति पनि देखिरहेका छौं। र कम्युनिस्ट पार्टी भित्रैबाट यस्ता खालका गैर सर्वहारा वर्गीय चिन्तन देखिने गरेको छ। यस्ता सबै खालका गैर सर्वहारा वर्गीय चिन्तनलाई परास्त गरी जनताको मन जित्ने गरी सबै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले काम गर्न पर्दछ’, नेपालले भने।
अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुले ‘चुनावदेखि चुनावसम्म’ नभई ‘जनतादेखि जनतासम्म’को अभियान संचालन गर्नुपर्ने बताए। उनले नेपालको कम्युनिस्ट पार्टी नै सबैभन्दा लोकतान्त्रिक पार्टी भएको दावी गर्दै ती कम्युनिस्ट पार्टीहरुले मात्रै बास्तविक रुपमा देशलाई एकतावद्ध बनाउने र मुलुकको राष्ट्रियताको रक्षा गर्ने तर्क गरे।