काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएको बताएका छन् । एमसीसीविरुद्ध खुला मञ्चमा साेमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सम्झौता पढेरै बुझेर विरोधमा उत्रिएको बताए ।
विप्लवले एमसीसी सम्झौतामा दलहरूले कुरै नबुझेको, दलहरू अबुझ हुँदा गाह्रो भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिमा समेत आपत्ति जनाएका छन् ।
‘प्रधानमन्त्री देउवालेसमेत कुरै बुझेको छैन भनेछन् । पढेर त मान्छेले भनिराखेको छ । त्यसै भन्छ?’ विप्लवले प्रश्न गरे, ‘यहाँ प्रधानमन्त्री निवासको जमिन बेचेर खाने मान्छेले के भन्छ भन्दा तपाईले बुझ्नु भा’छ छैन । वैदेशिक रोजगारीमा नेपाली ठग्नेले भन्छ, तपाईंहरूले बुझेको छैन ।’
नेता विप्लवले जसले वास्तविक बुझेको छ उसले विरुद्धमा बोलेको पनि तर्क गरे । ‘जसले बुझेर बाकस मात्रै देखेको छ, डलर मात्रै देखेको छ, उसले बुझ पचाएको छ,’ उनले भने, ‘कुरा जनताले होइन देशका दलालले नबुझेका हुन् । नेपालभन्दा एमसीसीमा बढी तलब पाउँदा सचिवको आँखा बन्द भएको हो । उनले जनताले कुरा बुझेको होइन भन्छ । यहाँको सरकारभन्दा राम्रो डलर दिएपछि मान्छेहरू गुणगान गाइरहेका छन् ।’
विप्लवले पार्टी प्रतिबन्धमा रहेका बेला नै यो सम्झौता अध्ययन गरेको र लागू हुन नदिने बताएको सुनाए । उनले अघि भने, ‘यो सम्झौता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरोधमा छ ।’
अमेरिकाले जुन देशबाट आफ्नो राष्ट्रिय सुरक्षामा चुनौती हुन्छ, त्यहीँ एमसीसी लागू गर्ने गरेको उनले बताए । नेपालमा पनि लप्सीफेदीदेखि सुगौलीसम्म बनाइने विद्युतका टावरको सुरक्षा खतराका नाममा अमेरिकी फौज नेपाल आउने खतरा देखिएको विप्लवले बताए ।
उनले अघि भने, ‘आज त हामी एउटा सानो झिल्को बोकेर काठमाडौंमा उत्रिएका छौं । यदि एमसीसी जबरजस्ती पास गर्न खोजियो भने यो झिल्को राँको बन्छ ।’