काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित नभए ‘खर्च चलाउन’ समस्या नहुने बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा सहभागी भएर संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले ‘हिजो जसरी चलेको थियो’ त्यसरी नै अबको खर्च पनि चल्ने बताए।
प्रतिस्थापन विधेयक पारित नभएपछि खर्च कसरी चल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले छोटो उत्तर दिँदै भने, ‘हिजो जसरी चलेको थियो, त्यसैगरी चल्छ।’
प्रतिनिधि सभा बैठकबाट पारित हुनुपर्ने बजेटसम्बन्धी (आर्थिक) अध्यादेश प्रतिस्थापन गर्न ल्याइएको विधेयक पारित नभएपछि खर्च गर्न ‘बाधा’ पुग्ने भएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभा बैठक सहज रुपमा सञ्चालन हुन सकेको छैन। एमालेकै अवरोधका कारण बजेटसम्बन्धी प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि बढेको छैन।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै अर्थमन्त्री जनार्दन शर्माले शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिस्थापन विधेयक पेस गरेका थिए।
शुक्रबारपछि आइतबार र आज (मंगलबार) प्रतिनिधि सभा बैठक बसे पनि एमालेको अवरोधका कारण प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि बढेको छैन। मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।