काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।
एमाले काठमाडौंले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड-माधवलाई दक्षिणपन्थीको संज्ञा दिदै उनीहरूले पुँजिवादीहरूको सहकार्यमा कम्युनिष्ट पार्टीको नेतृत्वलाई सरकारबाट अपदस्त गरेको बताए ।
बादलले भने, ‘आज राजनीतिक रूपमा हामी सत्ताबाहिर पुगेका छौं तर पार्टीभित्रका दक्षिणपन्थी विसर्जनवादीहरू पार्टीबाट अलग भएका छन् । हामी वर्ग संघर्षको माध्यमबाट एमालेको नेतृत्वमा पुनः सत्तामा आउनेछौं ।’
राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिए
बादलले राजतन्त्रको विपक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका छन् । राजतन्त्रको विपक्ष र गणतन्त्रको पक्षमा उभिँदा मदन भण्डारी मारिनु परेको बताएका हुन् ।
वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्ने क्रममा उनले दलहरूमा र तिनका नेताहरूमा विकास भएको चेतनाले नै देश संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आइपुगेको बताए । तर, यसबीचमा गणतन्त्रको चेतना भएका मदन भण्डारीजस्ता नेताहरू गुमाउनु परेको उनको भनाइ छ ।
माधव नेपाल एमाले बाहिर धेरै दिन टिक्दैनन् : बादल
माधव नेपाल धेरै दिन एमाले बाहिर नटिक्ने दाबी गर्दै एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे ।
‘चरम अन्तरसंघर्षबाट पुँजीवादी, दक्षिणपन्थी, बिसर्जनवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षिणपन्थी धारामाथि विजय गर्न सफल भएको छ । अदालतको परमादेशबाट षडयन्त्रपूर्वक ढंगले कम्युनिस्ट आन्दोलनको नेतृत्व विस्थापित गरिएको छ । राजनीतिक प्रगिगमन, प्रतिकान्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुन:स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उनले भने ।
थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे । ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरुद्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने ।
दिल्ली सम्झौताबाट ००७ सालको उपलब्धि
२००७ सालको उपलब्धि दिल्ली सम्झौताबाट प्राप्त भएको उनले बताएका छन् । वर्ग संघर्ष र यससँगै राजनीतिक दलको विकासको व्याख्या गर्दै उनले ००७ सालको आन्दोलनको उपलब्धि दिल्लीको सहयोगमा भएको र यसबाट मुलुक बहुदलमा प्रवेश गरेको बताए । तर, २०१७ सालमा यो व्यवस्था अन्त्य भएको उनको भनाइ छ । २०४६ हुँदै २०६२/६३ को आन्दोलनपछि मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाइ छ ।