काठमाडाैं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीको असहिष्णु प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएका छन्।
प्रस्तावित समाजवादी प्रेस संगठन नेपालसँग आबद्ध पत्रकारसँगको अन्तरक्रियामा उनले आफूसँग असहमति राख्नेप्रति ओलीको असहिष्णु प्रवृत्ति रहने गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्न निर्देशन दिएका हुन् ।
उनले पार्टीमा तेस्रो धार भनिएकाहरु आँट र विद्रोह गर्न नसक्ने र अध्यक्षसँग गल्ने स्वभावका रहेकाे समेत आरोप लगाए।
फरक प्रशंगमा पूर्वप्रधानमन्त्री नेपालले एमसीसी कम्प्याक्ट गर्दा असंलग्न नीति परित्याग गर्न नहुने, कुनै सैन्य संगठन र सुरक्षा छाताभित्र नरहने, नेपालले स्वतन्त्र निर्णय गर्न पाउनुपर्ने, बौद्धिक सम्पत्तिमाथि अधिकार र जग्गाको स्वामित्व तथा लेखापरीक्षण नेपालकै हुनुपर्ने तथा परियोजनामा नेपाली कर्मचारी र श्रमिक रहनुपर्नेमा स्पष्ट गरे।
आगामी निर्वाचनसम्म पाँच दलीय मोर्चा कायमै राखिने बताउँदै उनले अध्यादेशलगायत विषयले सरकार विस्तारमा ढिलाइ भइरहेको स्वीकार गरेका छन् ।