काठमाडौं- इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ ।
नेपाली सेनासमेत सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन ३ असोजमा कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।
४ असोजमा माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ ।
त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।
आज साँझ ‘उपाकु वनेगु’ भनेर बौद्ध नेवारहरुले पाल्चामा बत्ती बाल्दै खड्ग आकारको येँ नगर परिक्रमा गर्ने गर्छन्। वर्षभरी दिवंगत भएका आफन्तको सम्झनामा बौद्ध नेवारहरुले पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ।
त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक त्रिरत्न मानन्धर उपाकु बौद्ध नेवारहरुले पितृ मोक्षका लागि मनाउने पर्व रहेको बताउँछन्। गाईजात्रामा हिन्दु नेवारहरुले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरि बौद्ध नेवारहरुले नगर परिक्रमा गर्ने उनले बताए।