काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशका सरकारलाई एक हप्ताभित्र हटाउने उद्घोष गरेका छन्। आइतबार पोखरामा आयोजित कार्यकर्ता भेलामा उनले प्रदेशमा आफूहरु बलियो भएको बताए।
‘सातै प्रदेशमा हामी बलिया छौं। सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी एक नम्बर पार्टी बनेको छ। प्रदेश २ मा हामीले केपी ओलीको पार्टीलाई पछाडि धकेलेका छौं। कर्णाली प्रदेशमा हामीले टक्कर दिएर धुलो चटाइदिएका छौं। हामी त्यहाँ सशक्त भएर अगाडि बढेका छौं’, उनले भने, ‘प्रदेश १ र बागमती प्रदेशमा केपी ओलीको सरकार छ, अब एक हप्ताभित्र सरकारबाट हटाएर हामी सरकारमा जान खोजिरहेका छौं।’
उनले लुम्बिनी प्रदेशमा पनि आफूहरु सरकारमा जाने बताए। गण्डकी प्रदेशमा भने आफ्ना पक्षका साथीहरुलाई भेदभाव, अन्याय गरिएको, टिकटबाट वञ्चित गरिएको, पीडित बनाइएको बताए। नेपालले आफ्नो पार्टीसँग ९ प्रतिशत छ र ५ प्रतिशत छ भनेर गरिएको झुटा प्रचार नपत्याउन आग्रह गरे। ‘सारा जनताको आकर्षणको केन्द्र भएको छ। आशा अपेक्षाको केन्द्र भएको छ’, उनले भने।
नेपालले बाहिर प्रचार भएजस्तो माओवादीसँग एकता नहुने बताए। आफूहरु एक्लै शक्तिको भरमा अगाडि बढ्ने उनको भनाइ छ। उनले ७७ वटै जिल्लामा आफ्नो पार्टीको कमिटीहरु रहेको बताए।
उनले प्रतिनिधि सभाको विघटन गरेर जनताको अपमान गरिएको बताए। केपी शर्मा ओलीतिर संकेत गर्दै उनले भने, ‘कतिपय देशमा संविधान विरोधी काम गर्ने प्रधानमन्त्रीलाई सजाय दिइन्छ। अब नेपाली जनताले सजाय दिनेछन्। संविधानमाथि आघात पुर्याउनेहरुलाई जनताले छुट दिने छैनन्।’