काठमाडाैं- प्रायः दिउँसो राख्ने गरिएको प्रतिनिधि सभाको बैठक आज (असोज ४, सोमबार) चाहिँ बिहान बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो।
संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार सोमबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यक्रम तय गरिएको छ।
आइतबार सार्वजनिक कार्यसूचीअनुसार सोमबारको बैठकमा विनियोजन विधेयकबारे छलफल हुनेछ। अर्थमन्त्री जनार्दन शर्माले व्यवस्थापन कार्यमार्फत चारवटा विधेयक प्रस्तुत गर्नेछन्।
मन्त्री शर्माले विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक विचार गरियोस् भन्नका लागि प्रस्ताव र आर्थिक विधेयकमा दफाबार छलफलको मिति तोक्न प्रस्ताव पेस गर्नेछन्।
यस्तै सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकमा सांसद प्रेम सुवालबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नेछन्।
यसैगरी सोमबारको संसद् बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयकअन्तर्गतका विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यक्रम छ।
यस्तै विनियोजन विधेयक, २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालयका विभिन्न शीर्षकबारे उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।