काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट आफुहरूले विद्रोह गरेकोलाई पिलो निचोरिएर जस्तो आनन्द भएको भन्ने ओलीको भनाइको जवाफ फर्काएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले यस्ताे टिप्पणी गरेका हुन् ।
‘सर्वोच्च अदालतमा रहेको विचाराधीन कुरालाई संसद्मा उठाउन पाइँदैन भनेको छ’, उनले भने, ‘त्यही पनि अरूको काँध चढेर माइक खोसेर भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ? कस्तो सन्तान जन्माएका, कस्ता मान्छे बनाएछन् ! कस्तो कुरा सिकाएछन् ? कस्तो भाषा प्रयोग गर्छन् ? सधैँभरि कान थुन्न, आँखा मिचेर हेर्न पनि मन लाग्दैन ।’
उनले संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको पनि उल्लेख गरे ।
‘सर्वोच्च अदालतको फैलसा पढेको छैन । सर्वोच्च अदालतले प्रस्ट भनेको छ- प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’, उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको छ । त्यसबाहेक कसैले पनि विघटन गर्न पाउँदैन भनेर सर्वोच्च अदालतको फैसला पढेका छैनन् र ?’
उनले चोइटिएर मान्छे गए भन्नेले संसदमा किन नारा लगाउन परेको भन्दै ‘पिलो निचोरेर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’ भनेर प्रश्न पनि गरे ।