काठमाडौं– नबिल बैंकले काठमाडौं महानगरपालिकाले जम्मा गरेर राखेको साढे ६ अर्बभन्दा बढी रकममा मनोमानी गरेको पाइएको छ ।
महानगरपालिकामा मेयर विद्या सुन्दर शाक्यसँगको मिलेमतोमा बैंकले राज्यको ढुकुटुमा रजाइँ गरेको पाइएको हो । महानगरपालिकाले नबिल बैंकमा पेशल खाता नम्बर ०३०६०१७५००१४८ मा ६ अर्ब ६३ करोड ८० लाख ७२ हजार ६ सय ९७ रुपैयाँ मौज्दात राखेको थियो ।
उक्त रकम जम्मा गर्दा महानगरपालिकालाई ०.७५ प्रतिशत मात्रै ब्याज दिएको पाइएको हो ।
महानगरपालिकाले नविल बैंकमै दैनिक कारोबार सञ्चालनका लागि शुन्य प्रतिशत ब्याज दरमा अलग्गै ०३०१०१७५००९६२ नम्बरको खाताबाट चल्ती खाता सञ्चालनमा थियो । यद्धपी बैंकले बचत खाताकै रकमलाई चल्ती खाता बनाएर ब्याज छलेको डरलाग्दो रहस्य फेला परेको छ ।
नविल बैंकको आफ्नो वेभसाइट अनुसार ठूला बचतकर्ताका लागि सुपर सेभिङ खातामा ४ दशमलव १ प्रतिशत ब्याज दिने उल्लेख गरेको छ । बैंकले छ करोड भन्दा बढी रकम मुद्दती खातामा निक्षेपमा ७ दशमलव ५ प्रतिशत ब्याज दिने जनाउँदै आएको छ ।
महानगरपालिकाले शुरुमा ५ अर्ब २४ करोड ३४ लाख ३७ हजार २ सय ५० रुपैयाँ शुरु मौज्दात राखेको थियो । जसको अन्तिम मौज्दात ६ अर्ब ६३ करोड भन्दा माथि छ ।
महानगरले सुपर सेभिङकै खाता अनुसारको ब्याजदर हिसाब गर्दा पनि १९ करोड ३६ लाख ६८ हजार भन्दा बढी रकम पाउनुपर्ने हो । तर, बैंकले अर्बौं रुपैयाँमा वर्षौैं रजाइँ गरेपछि शुन्य प्रतिशत ब्याज दिएर राज्यको ढुकुटीमा लुट मच्चाउँदा पनि काठमाडौं महानगरपालिका चुप रहेको छ ।
महानगरपालिकाले उक्त रकम हाल राष्ट्र बैंकमा सारेको छ । काठमाडौं महानगरका मेयर शाक्य र नविल बैंकका सिइओ अनिल केशरी शाहबीच निकै राम्रो सम्बन्ध छ । उनीहरुद्वयको सम्बन्धकै कारण २ वर्षअघि काठमाडौं सौन्दर्यकरणका लागि सम्झौता गरेको थियो ।
महानगरका मेयर शाक्य र शाहबीच सौन्दर्यकरण बढाउने सम्झौता भएपनि काठमाडौं शहर झनै कुरुप बन्दै गएको छ । उनीहरुबीच सम्झौता काठमाडौं सौन्दर्य बनाउने भन्दा पनि बैंकको अर्बौं रकम ब्याजमा लगाउने विषयमा सेटिङ रहेको नगरपालिकाका उच्च अधिकारीको दाबी छ ।
बैंकहरुले सर्वसाधरणलाई भने १३ प्रतिशतसम्म ब्याज असुल्दै आएको छ । तर, जनताकै करबाट जम्मा भएको महानगरपालिकाको अर्बौं रुपैयाँ भने नबिल बैंकले शुन्य प्रतिशतमै हत्याएर वर्षौंसम्म सरकारी ढुकुटीको दुरुपयोग गरेको छ ।