काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ठूला लगानीमा स्रोत नखोज्ने गठबन्धन सरकारको निर्णयले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको बदनाम हुने निष्कर्ष निकालेको छ।
ललितपुरको च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकका निर्णय पत्रकारहरुलाई सुनाउँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले यसबारे जानकारी दिएका हुन्।
स्रोत नखुलेको लगानी भित्रिन पाउने गरी बजेटमा समावेश गरिएपछि नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूको कालोसूचीमा पर्न सक्नेतर्फ पनि एमालेले सरकारलाई सचेत गराएको छ।
‘स्रोत नखुल्ने लगानी आउन दिएर सरकारले नेपालको राष्ट्रिय कानुनविरुद्ध काम गरेको छ। यो निर्णय नेपाल यसअघि नै कतिपय अन्तर्राष्ट्रिय कानुनमा अनुबन्ध भएको अवस्थामा घातक हुन सक्छ’, उनले भने, ‘यसले नेपाललाई कुनै पनि बेला कालोसूचीमा राख्ने खतरा हुन सक्छ। यस्तो अवस्था आउन सक्ने हुँदा हुँदै स्रोत नखुलेको सम्पत्ति खुला गर्ने नीति घोर आपत्तिजनक छ।’
बैठकले संसदमा प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण कुरा उठाउँदै अवरोध गरिरहँदा पनि सरकारले प्रतिस्थापन विधेयक जबरजस्ती अनुमोदन गरेकोमा आपत्ति जनाएको छ।