काठमाडौं- दसैँका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुले आज (सोमबार)देखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन्। सरकारले आजदेखि लामोदूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो।
यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि आजदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट बुकिङका लागि टिकट काउन्टसमेत थप गरिएको छ। गोंगबुमा ११ काउण्टर थप गरिएको विभागले जनाएको छ। अब गोंगबुमा टिकट काउण्टर संख्या ३२ पुगेको छ।
दसैँमा घर जानका लागि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले व्यवसायीको सहकार्यमा टिकट काउन्टर थप गरेको हो।
अनलाइनको माध्यमबाटसमेत टिकट बुकिङको व्यवस्था गरिएको विभागले जनाएको छ। सरकारले दसैंका लागि सवारी साधनको नयाँ भाडादरसमेत निर्धारण गरिसेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारीसाधन चल्दै आएका छन्।
दसैंको लागि अग्रिम टिकट बुकिङ खुला भए पनि वर्षाका कारण क्षतिग्रस्त कतिपय सडक अझै मर्मत भएका छैनन्। बाढीपहिरोले क्षति गरेका सडकमा सवारी साधन सञ्चालन गर्न समस्या हुने भन्दै यातायात व्यवसायीले सडक मर्मत गर्न माग गर्दै आएका छन्।