काठमाडौं- जनता समाजवादीका पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमालेद्वारा भइरहेको संसद् अवरोधलाई निर्लज्जताको पराकाष्ठा भनेका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले संसद् अवरोधलाई बिडम्बना भने।
संविधान विपरीत गएर दुईदुई पटक संसद् विघटन गर्नेहरुले नै लाज पचाएर संवैधानिक सर्वोच्चता कायम गर भनिरहेको उनको भनाइ छ। ‘सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने। संसदीय मर्यादा भन्ने’, उनले भने, ‘जुन संसद्लाई विघटन गरेको छ। त्यही संसद्मा आउँदा लाजमर्दो हुनुपर्ने हो।’
आफूले २०७२ सालमा माओवादी परित्याग गरेपछि संसद्बाट तुरुन्तै राजीनामा दिएको स्मरण गर्दै उनले एमाले सांसद्हरुसँग अलिकति पनि नैतिकता भए राजीनामा गरेर जनताबीच जानुपर्ने बताए।