काठमाडाैं- विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरेको छ।
कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी विरूद्ध चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो।
उनले आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको अनियमित छुट दिएको अख्तियारको आरोप थियो। न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको हाे।
आयोगको सदस्य हुँदा उनले विभिन्न करदाताको कर मिनाहा गर्दा बदनियतपूर्वक कर मिनाहा गरेको देखिएकाले निर्दोष हुन भन्ने नसकिने तर उनी भागीजाने वा प्रमाण नष्ट गर्न सक्नेसम्मको अवस्था पनि नदेखिएकोले धरौटी मागेको विषेश अदालतले जनाएको छ।
चार वर्षअघि शर्मा, कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरूद्ध अख्तियारले १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा लगाएको थियो।
सोही मुद्दाको प्रकृयामा सहभागी हुन शर्मा सोमबार उपस्थित भए। उनी उपस्थित भएपछि सोमबारै थुनछेक बयान र बहस भएको थियो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको थियो।