काठमाडाैं- सरकारले नेकपा एमालेलाई विभाजित गर्ने योजनासहित ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दलसम्बन्धी उक्त अध्यादेश फिर्ता लिँदै राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए।
सरकारले राजनीतिक दल विभाजनको अध्यादेश प्रतिनिधि सभामा पेश गरे पनि छलफलका लागि प्रक्रियामा अघि बढाएको छैन। सरकारले एमाले विभाजनका लागि माधवकुमार नेपाललाई सजिलो बनाइदिन ४० प्रतिशतको थ्रेस होल्ड घटाएर २० प्रतिशतमा झारिदिएको थियो।
त्यसकै सहयोगमा नेपालले एमाले विभाजित गरिसकेका छन्। त्यस्तै यही अध्यादेशको सहयोमा जसपाबाट अधिकारिकता गुमाएका महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी बनाइसकेका छन्।
अध्यादेश फिर्ता लिएसँगै मंगलबार वा बुधबारसम्म मन्त्रिमण्डल विस्तार तयारी पाँच दलीय गठबन्धनले गरेको छ। मन्त्रिपरिषद् विस्तारका क्रममा सहभागी हुन माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सम्भावित मन्त्रीको सूची तयार पारिसकेको बताइएको छ।
अध्यादेश फिर्ता लिएसँगै सोमबार नै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर मन्त्रालय भागवण्डाको टुंगो लगाउने तयारी रहेको छ।