काठमाडौं- नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनमा एमालेको बहुमत आउने र अध्यक्ष केपी ओली नै प्रधानमन्त्री बन्ने दावी गरेका छन् । पार्टीबाट चोइटिएको समूहले चुनावमा एमालेलाई कुनै पनि असर पार्न नसक्ने उनको दाबी छ ।
‘तलदेखि माथिसम्म विभाजन भएको थियो । महाकाली सन्धि, भारत र अमेरिकाको विरोधमा सशक्त नारा लागेका थिए । तर पनि अलग भएको मालेले एक सिट पनि जित्न सकेन । जमानत समेत जोगिएन’, एक अन्तर्वातामा उनले भने ‘एकीकृत समाजवादीको त कहीँं कतै केही सम्भावना छैन । अब एमालेले बहुमत ल्याउँछ, सरकार बनाउँछ । केपी ओली फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छ ।’
पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन अब भीम रावलकै जिम्मेवारी भएको उनले औंल्याए । उनले भने, ‘१० बुँदे सहमति कुनै निर्णय थिएन । त्यो सिफारिस मात्र थियो । केन्द्रीय कमिटीले रचनात्मक रुपमा लागू गर्ने भनेर अन्तर पार्टी निर्देशन गरेको हो । सबैजसो ठाउँमा कार्यान्वयन भइसकेको छ । तर सुदूरपश्चिममा बाँकी भएको सत्य हो । अब त्यसको संयोजक भीम रावले सहजीकरण गर्नुपर्यो । मुख्य जिम्मा उहाँकै हो ।’
एमसीसीबाट एमाले ‘ब्याक’ नभएको उनको स्पष्टोक्ति छ । उनले थपे, ‘एमसीसीका बारेमा हामी दुइटा कुरा ख्याल गर्छौं, बृहत् राष्ट्रिय हितमा छ कि छैन रु जनचाहनाको आधारमा छ कि छैन रु नेकपा एमालेले विगतमा बनाएको कार्यदलको सुझावलाई पनि ख्याल गर्छौं । एमसीसीका बारेमा सरकार नै स्पष्ट छैन । सत्ता गठबन्धनमा फरक फरक विचार र दृष्टिकोण आइरहेका छन् । सरकार नै नतातेका बेला हामीले एमसीसीका बारेमा पेस्की निर्णय गर्नु आवश्यक छैन । जति बेला चाहिन्छ, त्यति बेला निर्णय गर्छौं ।’