काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चौधरीले अबको चुनाव एमाले अध्यक्ष केपी ओलीले हार्ने र एमाले पार्टी नै पत्तासाफ हुने दाबी गरेका छन् ।
‘अबको चुनावमा केपी ओलीले नेतृत्व गरेको पार्टीका सांसदले एउटा पनि चुनाव क्षेत्र चित्न सक्दैनन्’, चौधरीले भने, ‘ओलीको लोकप्रियता शून्यमा झरेको छ । अबको चुनावमा ओली आफै चुनाव हार्छन् ।’
उनले दुई तिहाई दिँदा ओलीले केही गर्न नसकेकाले चुनावमा ओलीको हैसियत शून्य हुने दाबी गरेका हुन् । ‘केपी ओलीले १६५ निर्वाचन क्षेत्रमध्ये एक सिट पनि जित्न सक्दैनन्’, चौधरी भन्छन्, ‘यसको उत्तर हिसाबकिताब गरेर म दिन सक्छु।’
संविधान नमान्ने, प्रणाली भन्दा माथि राख्न खोज्नेलाई चुनावबाट हराउनुपर्ने उनले बताए । आफूलाई संविधानमाथि छु भन्ने व्यक्ति चुनावमा पत्तासाफ हुने उनको भनाइ छ । चुनावपछि केपी ओली एकादेशको कथा हुने दाबीसमेत चौधरीले गरेका छन् ।
एमाले अध्यक्षको हैसियतमा टिकट बाँडेको आधारमा केही सांसदले अहिले साथ दिएको तर अबको चुनावमा जनता कसको पक्षमा छन् भन्ने कुरा प्रष्ट हुने उनले बताए ।