काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका ‘दश भाइ’ले केपी शर्मा ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
अनेरास्ववियू (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले हिजो ओलीलाई कारवाही गर्न हस्ताक्षर गर्नेहरूले नै अहिले ओलीसँग आत्मसमर्पण गरेको बताए ।
‘अस्तिसम्म मलाई दह्रोसँग उभिनुस् कमरेड, तपाईंको पछाडि हामी छौं भन्ने गर्नुहुन्थ्यो । केपी ओली तानाशाह नै हो, अपराधी नै हो भन्नुहुन्थ्यो, ती १० भाइ छन् नि । अहिले त लुत्रुक्क परेर प्रचण्डले एमाले फुटाउन खोजेको रे !,’ दाहालले भने, ‘मलाई गाली ! हैन उहाँहरू पनि बसेर केपी ओलीलाई पार्टीबाट निकालेको होइन ? केपी ओलीलाई निकाल्ने बेलामा त १० भाइ पनि थिए केन्द्रीय कमिटीमा । पार्टीबाट निकाल्न सही गरेका छन् । उनीहरूको सही गरेको माइन्युट नै छ । अनि मैले एमाले फुटाएको भन्न मिल्छ त ?’
आफूले नै हस्ताक्षर गरेर ओलीलाई पार्टीबाट निकाल्ने र अहिले आफूलाई एमाले विभाजन गर्यो भनेर आरोप लगाउनु ठीक नभएको दाहालको भनाइ थियो । त्यस्तो भन्दा ताली पिट्नेहरूलाई देखेर आफू हैरान भएको दाहालको भनाइ थियो ।