काठमाडाैं- नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनमा ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने प्रस्ताव गरिएको छ।
विधान महाधिवेशनका लागि वितरित दस्तावेजमा राष्ट्रिय महाधिवेशनको अधिकार र कर्तव्य शीर्षकमा राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्षमण्डल र आवश्यक संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ।
एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एकतिहाइ महिलासहित नेपालको विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने पनि प्रस्ताव गरेको छ।
विधान महाधिवेशनमा पेश गरिएको दस्तावेज अनुसार अब एमालेमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ।
एमालेले नवौँ महाधिवेशनमा व्यवस्था गरेको उपमहासचिव पद भने खारेज गरेको छ। नवौँ महाधिवेशनबाट विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित भएका थिए।
त्यसैगरी एमालेले प्रदेश कमिटीका सातजना अध्यक्षहरूलाई केन्द्रीय कमिटीका पदेन सदस्य राखिने भएको छ। एमालेले १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, १ जना सचिव र १२ जना सदस्यसहितको केन्द्रीय अनुशासन आयोग बनाउने पनि प्रस्ताव गरेको छ।
एमालेको जारी विधान महाधिवेशन पार्टी इतिहासमै पहिलो पटक हुन लागेको हो। प्रस्ताव अनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा एउटा विधान महाधिवेशन गरिने भएको छ।
भिडियाे