काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा अध्यक्ष केपी ओलीले धोका र छलकपटको नीति लिएपछि आफूले हेडक्वार्टरमा ‘बमबारी’ गरेको बताएका छन् । उनले ओलीविरुद्ध आफूले पार्टीमा प्रस्तुत गरेका दस्तावेजलाई बमको संज्ञा दिए ।
माओवादीको प्रदेश सम्पर्क समिति भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले पेश गरेको डकुमेन्ट भनेको बमवार्ड द हेडक्वाटर’ हो । जसरी माओत्सेतुङले बमबार्ड त बुर्जुवा हेर्डक्वाटर भनेर पार्टीकै लिडरसीपमाथि प्रहार गर्ने कुरा गर्नुभएको थियो, मैले पनि त्यस्तै गरेको हुँ ।’
उनले थपे, ‘एउटा प्रधानमन्त्री र आफ्नो पार्टीका अध्यक्षविरुद्ध विद्रोह गर्ने कुरा अलिकति गम्भीरै थियो । जे पनि हुन सक्थ्यो । तर, देश दुर्घटनामा पर्न नदिन मैले त्यो गर्नैपर्ने थियो ।’
आफूलाई पहिले देवता र पछि दानवको रुपमा चित्रण गरिएको भन्दै उनले अब आफू मान्छे बन्न लागेको बताए । पार्टीमा उत्पन्न विवादलाई फिल्ममा नायक र खलनायकको द्वन्द्वसँग उनले तुलना गरे । माओवादीले छोडिदिने हो भने देशै दुर्घटनामा पर्ने स्थिति रहेको प्रचण्डले दावी गरे । त्यसैले आगामी चुनावमा माओवादी एक नम्बर हुनैपर्ने उनको तर्क थियो ।
प्रचण्डकाे भाषण यस्तो थियो–
प्रतिगामीहरुले जनतामा के स्थापित गर्न खोजेका थिए भने माओवादी आन्दोलन अब सकियो । प्रचण्डको राजनीतिमा केन्द्रीय भूमिका छैन भन्ने बनाउन थुप्रै बल गरियो । प्रतिगामी, सामन्ती, प्रतिक्रियावादी, दरवारियाहरुले यस्तोभन्दा मलाई कुनै परवाह थिएन । उनीहरुले त पहिलेदेखि नै भनिरहेका हुन् । तर, जब उनीहरुको कुरा सुनेर हाम्रै साथीहरुले ‘हो कि क्या हो’ भन्ने सोच्न थाले, त्यसपछि मलाई चिन्ता भयो । साथीहरुको अनुहार मलिनो, निराश देखेपछि पीडा हुँदो रहेछ क्या !
तपाईंहरुले फिल्ममा हेर्नुभएको होला । खलनायकले कसरी भ्रम छर्छ । हो कि जस्तो पारिदिन्छ । नायककी प्रेमिकालाई पनि भ्रममा पार्छ । उनलाई पनि लाग्छ कि नायकले मलाई धोका दिन्छ कि क्या हो । हो त्यसैगरी हाम्रो पार्टीमा पनि साथीहरुमा भ्रम फैलाइयो । तर, अन्तिममा जित त नायककै हुने हो । खलनायकको त हुँदैन ।
आजभोलि थुप्रै विदेशी कूटनीतिज्ञसँग बिहानदेखि बेलुकासम्म मेरो कुरा भइराख्या छ । देशकै नागरिक अगुवा, पत्रकार, बुद्धिजिवीसँग पनि मेरो कुरा भइराख्या छ । पार्टीका देशभरका साथीहरुसँग पनि सम्पर्कमा छु । आजभोलि सबैले बुझ्नुभएको छ, को नायक र को खलनायक हो । देशको हिरो भनेको माओवादी र प्रचण्ड नै हो भन्ने फेरि स्थापित भयो ।
हिजो माओवादी जनयुद्धका क्रममा आफ्नो देवत्वकरण बढी भएको र अहिले दानवीकरण बढी भइरहेको प्रचण्डले गुनासो गरे ।
हिजो प्रचण्डपथको प्रवर्तक भनिएँ माओवादीकालमा । कहीँ कतै मेरो पार्टीभित्र आलोचना हुन्नथ्यो । म कहिलेकाहीँ डराउँथेँ पनि, प्रशंसाले बिग्रिने त होइन भनेर । मलाई साथीहरुले जति महान छन् भन्थे, त्यति छैन होला जस्तो लाग्थ्यो । तर पनि त्यसले क्रान्तिलाई माथि–माथि लगिराखेकै थियो ।
शान्ति प्रक्रियामा आइसकेपछि जब पार्टीमा विभाजन सुरु भयो, त्यसपछि त यति गाली खाएँ कि कुरै नगरौं । हिजो मलाई महान भनेर दस्तावेज र किताबमा लेख्नेहरुले नै आज गाली गर्न थाले । यसो सोच्छु, म यति गाली खान लायक त होइन नि ! क्रान्तिका लागि सकेको त गरेकै हो । हिजो एक्स्ट्रिममा गएर देवता बनाउनु र अहिले एक्स्ट्रिममा गएर राक्षस बनाउन खोज्नु दुवै सही होइन ।
आज म खुशी छु, किनकि अब म मान्छे हुन पाउँदैछु । एउटा देशलाई, जनतालाई माया गर्ने र राष्ट्रको हितको निम्ति अन्तिमसम्म लडिरहने मान्छे हुनेतिर गएँ भन्ने लाग्या छ । मानव बन्ने अवसर पाएजस्तो लाग्छ ।