गोरखा- उत्तरी गोरखाका स्थानीयले गाेरखाका प्रमुख जिल्ला अधिकारी (सीडीयाे)लाई तिब्बती नाका खुलाई दिन अनुराेध गरेका छन् । कोभिडका कारण दुई वर्ष देखि बन्द रहेको उत्तरी गोरखा–तिब्बती नाका खुलाउन पहल गरिदिन सीडीयाेलाई चुमनुब्रीबासीले अनुरोध गरेका हुन्।
गोरखाका सीडीयाे शंकरहरि आचार्यसँगको भेटमा उत्तरी गोरखा–तिब्बती नाका खुलाउन सम्बन्धित निकायमा पहल गरिदिन उनीहरुले आग्रह गरेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीका कारण उत्तरी गोरखा–तिब्बती दुई नाका २ वर्ष देखि बन्द रहेको छ ।
उत्तरी क्षेत्रको नाका बन्द हुनु र लगातारको बाढी पहिरोका कारण ठाउँ-ठाउँ बाटो अवरुद्ध हुदा चुमनुब्रीबासीलाई खाद्यान्न लगायतका उपभोग्य बस्तुहरुको ओसारपोसार गर्न समस्यामा परेको गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताए ।
‘चुमनुब्री गाउँपालिकाको चुम भ्याली हुँदै जाने छेकम्पारको ङ्गईला भज्याङ नाका र चुमनुब्री गाउँपालिका वडा न १ सामागाउँ स्थित रुईला नाका विगत २ वर्ष देखि कोभिड–१९ का कारण बन्द छ’, उनले भने ‘दुवै नाका नै बन्द हुदा स्थानीयहरु खाद्यान्न सामाग्री ल्याएन पाएका छैनन् ।’
नाका खुलेपछि मात्र उत्तरी गोरखाका स्थानीयहरु तिब्बती बजारबाट खाद्यान्न लगायत सामाग्री किनमेल गर्न पाउँछन् । दुई वर्ष सम्म नाका नखुल्दा हेली मार्फत ल्याएका सामान धेरै महँगो पर्ने स्थानीयहरुको गुनासो छ । यस्तै, वर्षातको कारण गोरखा सदरमुकाम सम्म आवतजावत गर्ने गोरेटो बाटो ठाउँ ठाउँमा अवरुद्ध हुदा खाद्यान्न ढुवानीमा धेरै समस्या झेल्नु परेको अध्यक्ष गुरुङ बताउँछन् ।
नेपाली सेनाको हेलिकप्टरबाट पटक पटक गरी वडा नम्बर ६ र ७ का लागि करिब ९३ क्विन्टल चामल ढुवानी गरिएको छ । सडक सञ्जालबाट बन्चित रहेको चुमनुब्री गाउँपालिमा खाद्य संकट हुन नदिन हेलिमार्फत चामल ढुवानी गरिदै आएको छ ।
उत्तरी क्षेत्रमा निरन्तर पहिरो गइरहेको कारण तत्काल गोरेटो बाटो संचालन गर्न कुनै सम्भावना नरहेको र खाद्यान्न तथा अत्यावश्यक बस्तुहरु ढुवानीका लागि उत्तरी गोरखाको दुवै नाका खुलाउन सम्बन्धित निकायमा पहल गरिदिनु सीडीयाे आचार्यलाई अनुरोध गरिएको अध्यक्ष गुरुङले बताए ।
यस्तै, सीडीयाे आचार्यले उत्तरी गोरखाको नाका खुलाउन पहल भइरहेको बताएका छन् । ‘उत्तरी गोरखाको ङ्गईला भज्याङ नाका र रुईला नाका खुलाउन पहल गरिरहेका छौ,’ उलने भने ‘हामीले गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौँ । परराष्ट्र मन्त्रालयल औपचारिक रुपमा चिनसँग कूटनीतिक पहल थालेको छ ।’
यस्तै, उत्तरी क्षेत्रमा थप चामल ढुवानी व्यवस्थापनका लागि गृहमन्त्रालयलाई पत्रचार गरिसकेको समेत उनले जानकारी दिए । छेकम्पार र सामागाउँमा नाका छ । ती नाका वर्षमा एक पटक साउन महिनामा मात्रै खुल्ने गरेको छ । नाका खुलेपछि उत्तरी गोरखाका चुमनुब्रीबासीले तिब्बती बजारबाट खाद्यान्नलगायत सामग्री किनमेल गर्न पाउँछन् ।
याे पनि,
उत्तरी गाेरखामा खाद्यान्नको चरम अभाव : २७० घरधुरी रहेको चुम्चेतमा १४४ बोरा मात्र पुर्याइयाे
उत्तरी गाेरखामा हेलीकोप्टरबाट खाद्यान्न पुर्याउनुको विकल्प छैन, प्रजिअ भन्छन्- खाद्य संकट हुन सक्छ
उत्तरी गाेरखाका लागी तोकियो हेलिकोप्टरको भाडादर, कहाँका लागि कति [सूचीसहित]