काठमाडाैं- ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त फैसला सुनाएको हो ।
अदालतले कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद, एकजनालाई ३ वर्ष साथै अर्का एकलाई ६ महिना कैद सजाय तोकेको छ ।
अदालतले तस्करी प्रकरणमा मुछिएका बहालवाला र अवकाशप्राप्त सबै प्रहरी अधिकारीलाई सफाइ दिएको छ ।
के हो सुन तस्करी प्रकरण ?
२०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । तर, भरिया उर्लाबारीका सनम शाक्यको हत्यासँगै सुन हराएको पुष्टि भयो ।
घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।
घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सह-सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समिति बनाएको थियो भने प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वको समिति बनाएको थियो ।