काठमाडौं– नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट सरकारमा थपिने मन्त्रीहरुको मन्त्रालय टुंगो लगाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीले थप तीन मन्त्री र एक राज्यमन्त्री पठाउँदैछ। बुधबार माओवादीले सरकारमा थपिने मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको थियो।
माओवादीले थप तीन मन्त्रीमा देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजलाई पठाउने निर्णय गरेको थियो। त्यसैगरी, राज्यमन्त्रीमा बोधमायाकुमारी यादवलाई पठाउने निधो गरेको थियो।
पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनाउने निर्णय भएको माओवादी केन्द्रका एक स्थायी समिति सदस्यले बताए।
त्यस्तै, गहतराजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पाउने भएका छन् भने श्रेष्ठलाई खानेपानी तथा सरसफाई मन्त्रालय दिइने भएको छ। राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी हुने यादवलाई भने कुन जिम्मेवारी दिने भन्ने खुलाइएको छैन।
माओवादीबाट यसअघि नै अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सरकारमा सहभागी छन्।