गाेरखा- कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित विधानलाई प्रकाशनका लागि पठाउँदै संख्याको पनि टुंगो लगाइएको हो ।
एमाले केन्द्रीय प्रचार विभागका अनुसार वडा र स्थानीय तहका पदाधिकारी ५ जना हुनेछन् । जसमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुईजना उपपसचिव निर्वाचित हुनेछन् ।
त्यस्तै गाउँपालिका र नगरपालिकाका वडा कमिटीको अधिकतम आकार ३१ सदस्यीय हुनेछन । त्यस्तै कात्तिक ९ गते हुने गाउँपालिका र नगरपालिका अधिवेशनबाट ५ जना पदाधिकारीसहित ७५ सदस्यीय कमिटी निर्वाचित हुनेछन् ।
वडा कमिटी अधिवेशनहरुको निर्वाचन विधि लगायतका अन्य विषयमा तत्कालै सर्कुलर पठाइने केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताए । वडा र स्थानीय तहका अधिकतम अधिवेशनस्थललाई जुममा जोडेर अध्यक्ष ओलीले भर्चुअल रुपमा एकैपटक उद्घाटन गर्ने तयारी एमालेको छ ।
गाेरखामा दुई नगरपालिका र नाैं गाउँपालिका गरी एघार स्थानीय तह रहेको छ । नगरपालिका तर्फ २४ वडा र गाउँपालिका तर्फ ७० वडा रहेकोकाे गाेरखामा दुई संघिय निर्वाचन क्षेत्र र चार प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ । यि सबैमा कार्तिक ६ र ९ मा वडा र पालिका कमिटीकाे अधिवेशन हुने छ ।