काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नुपर्ने बताएका छन्। एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको उनको भनाइ छ।
वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भनेका छन्, ‘यसमा विवाद गर्नु आवश्यक छैन । यसलाई छिटो पारित गर्नुपर्छ ।’
प्रधानमन्त्री देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको समेत बताएका छन्। सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको उनले स्पष्ट पारेका छन्।
सङ्क्रमण अन्त्य भएर मुलुक विस्तारै लिकमा फर्किएको बताउँदै प्रधानमन्त्री देउवाले अब संविधान सुरक्षित भएको दाबीसमेत गरेका छन्। अब मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएको बताउँदै प्रधानमन्त्री देउवाले समयमै तीन तहको निर्वाचन गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
वर्तमान सरकारले खुला अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति लिएको उनले बताएका छन्। यो सरकारले छिमेकी देश भारत र चीनसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट्याउँदै उनले भनेका छन्, ‘भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नेपालको हितमा रहेको छ ।’
अहिले कमसेकम अन्योलको अवस्थाबाट ग्रस्त भएको देशलाई लिकमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाइसक्ने बताए।
कोरोनाविरुद्धको खोप उल्लेख्य मात्रामा आएको चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाललाई भारत र चीनले खोप सहयोग गरेको छ, अन्य देशबाट प्राप्त भइरहेको छ, अमेरिकासँग पनि खोप उपलब्ध गराउने विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग कुराकानी भएको छ । मलाई विश्वास छ, यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई खोप दिन सफल हुनेछौँ।’