काठमाडौं- नेकपा (माओवादी केन्द्र) छाडेर एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन् । त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको दाबी छ ।
नेकपा खारेजीसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि साहले एमाले रोजेका थिए । नेकपा खारेजीपछि केही समय माओवादी केन्द्रमै रहेका उनी तत्कालीन प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार गर्न थालेपछि एमालेमा सामेल भएर सहरी विकास मन्त्री बनेका थिए ।
अहिले उनी एमालेमा पनि सक्रिय छैनन् । पछिल्लो समय उनी माओवादी केन्द्रमै फर्किने सोचका साथ सो पार्टीका नेताहरुको सम्पर्कमा पुगेको बताइएको छ । साहले ‘आइटी आर्मी’ नामक संगठन बनाएका छन् । सोही संगठनमार्फत उनी राजनीतिक गतिविधि गर्नुका साथै शक्ति प्रदर्शन गरिरहेका छन् ।
साहका साथमा माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरु विस्तारै माओवादी केन्द्रमा फर्किन थालेका छन् । त्यसैले पनि साहमाथि माओवादीमै फर्कने दबाब बढेको स्रोत बताउँछ । प्रदेश २ का माओवादी केन्द्रका इन्चार्ज एवं स्थायी कमिटी सदस्य गणेश साहले साह पार्टीमा फर्किने कुरा पार्टीमा एजेण्डाको रुपमा नआए पनि नेताहरुको बीचमा चर्चाको विषय बनेको बताए ।
साहले माओवादी केन्द्रमा फर्किन स्थायी कमिटी सदस्य माग गरिरहेका छन् । यद्यपि केन्द्रीय सदस्य पद पाए पनि उनी माओवादी केन्द्रमा फर्किने मुडमा रहेको उनका निकटस्थ नेता बताउँछन् ।
माओवादी केन्द्रमा मधेसभित्र मातृका यादव र प्रभु साहले छुट्टाछुट्टै गुट चलाइरहेका थिए । उनीहरुको गुटबन्दीले मधेसमा पार्टीसमेत कमजोर भएको थियो । उनीहरु बीचको टकरावका कारण ‘प्रचण्ड’ पनि चिन्तित थिए । माओवादीबाट यादव केही समय अलग हुँदा मधेसमा साहको एक्लै साम्राज्य थियो ।