धादिङ- नेपाली कांग्रेसका नेता गगन थापाले स्थानीय चुनाव वैशाखमै हुने भएकाले वडा र पालिकामा सोहीअनुसार तयारीमा जुट्न जिल्लाका पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार धादिङकाे थाक्रे गाउँपालिका २ नम्बर वडा पार्टी कार्यालय उद्घाटन गर्दै नेता थापाले उक्त निर्देशन दिएका हुन्।
उनले चुनावअघि नै नेपाली कांग्रेसको अधिवेशन हुने भन्दै नेता कार्यकर्तालाई यसमा ढुक्क हुन पनि आग्रह गरे। थापाले भने, ‘अधिवेशन नभए त कांग्रेसको वैधानिकतै रहँदैन। मंसिरको अधिवेशन २/३ दिन तलमाथि होला, अधिवेशन नगरी चुनावमा जानै पाइन्न।’
स्थानीय नेताहरुलाई अधिवेशनबारे नअलमलिन उनको आग्रह थियो। नेता थापाले अहिले अर्लि इलेक्सनको कुरा चलिरहे पनि नहुने बताउँदै स्थानीय चुनावचाहिँ वैशाखमै हुने बताए।
‘अर्लि इलेक्सन अर्थात् चाँडो चुनावको पनि चर्चा तपाईंहरुले पढिराख्नुभएको छ। नेपालको संविधानको जुन व्याख्या गरेर अहिले संसदको पुनर्स्थापना भएको छ। ५ वर्षभन्दा अगाडि संसद भंग गर्नै पाइँदैन’, उनले भने, ‘कहाँबाट अगाडि चुनाव हुने? मनको इच्छा राख्न पाइयो। चुनाव फागुनमा होइन वैशाखमा भइदिए हुने भन्न पाइयो, फागुनमा भइदिए हाम्रो पार्टीलाई फाइदा हुन्थ्यो भन्न पनि पाइयो। चुनाव कहिले हुन्छ? अर्को वर्ष मंसिरमै हुन्छ। स्थानीय चुनाव कहिले हुन्छ? वैशाखमै हुन्छ।’