काठमाडौं- विगत केही समयदेखि चरम विवादमा पर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जवाराले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि सत्तारुढ गठबन्धनबाट आफूविरुद्ध अफवाह फैलाउने काम भएको भन्दै कडा आक्रोश पोखेका छन्।
प्रधानन्यायाधीश राणाले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका थिए। सुरक्षा स्रोतका अनुसार केही मिनेटमात्र भएकाे भेटमा सत्तारुढ गठबन्धनले आफुविरुद्ध परिस्थिति भड्काएको र असहज परिस्थिति ल्याई न्यायपालिकालाई थप विवादमा पारेको भन्दै राजीनामा दिएर पद नछाड्ने प्रष्ट पारेका थिए ।
प्रधानन्यायाधीश राणाले यदि सत्तारुढ गठबन्धन आफ्ना विरुद्ध यसरी नै लाग्ने र परिस्थितिलाई उत्तेजित बनाउँदै लैजाने हो भने आफूले पनि पत्रकार सम्मेलन नै गरेर हालसम्म भएका सबै कुराहरु खुल्ला खुलस्त सार्वजानिक गरिदिने चेतावनी दिए।
प्रधानन्यायाधीश राणाले प्रधानमन्त्री देउवासँगका सारा कुरा डिस्क्लोज गर्छु, माधव नेपाल र प्रचण्डसँग भएका कुरा पनि डिस्क्लोज गर्छु, सभामुख अग्नि सापकोटाको मुद्धाका बारे पनि म सबै कुरा सार्वजानिक गर्छु भनी आक्रोश पोखेका थिए। राणा आक्रोशित हुँदा मौन देखिएका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुसँग आफूले कुरा गर्ने भन्दै प्रधानन्यायाधीशलाई टारेका थिए।
बालुवाटारको एक उच्च स्रोतले बताएअनुसार, राणा प्रधानमन्त्री निवासबाट विदा हुनासाथ देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी आधा घण्टाका लागि तत्कालै बालुवाटार आइदिन आग्रह गरेका थिए। देउवाले बोलाएपछि दाहाल र नेपाल सोही साँझ अबेर बालुवाटार पुगेका थिए।
दुबै नेतालाई प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश राणा आएको र आक्रोश पोखेर गएको सबै बेलिबिस्तार सुनाएका थिए। ऊ आक्रोशित छ, छोड्दिन भनेको छ, तपाईंहरुले यो के के गराइराख्नु भएको छरु यस्तै हो भने सबै कुरा छताछुल्ल हुन्छ, अप्ठेरो हुन्छ भन्दै प्रधानमन्त्री देउवाले वामपक्षीय वकिलहरुलाई चूप बस्न लगाउन दाहाल र नेपाललाई आग्रह गरेका थिए।
एमाले र कांग्रेस महाभियोग लाउन तयार नभएको सार्वजानिक भइसकेको सन्दर्भमा माओवादी र एकीकृत समाजवादीले मात्र महाभियोग लगाउन संख्या पर्याप्त नहुने अवस्थाले विस्तारै प्रधानन्यायाधीश राणाको पल्ला भारी हुँदै गएको छ।