हेटौंडा- बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन्। बुधबार बसेको प्रदेशसभाको बैठकमा विश्वासको मतमाथि मतदान गर्नुअघि शाक्यले दाेस्राे कार्यसूचीमा किन प्रवेश गर्ने भन्दै राजीनामा दिने घोषणा गरेकी हुन्।
प्रदेशसभामा राजीनामा घाेषणा गर्नुअघि आफ्नाे भनाइ राखेकी थिइन्। साे क्रममा उनले बिहान बसेकाे एमाले प्रदेशसभा दलकाे बैठकले पनि राजीनामा दिन भनेकाे बताइन्। शाक्यले मुख्यमन्त्रीकाे कार्यभार सम्हालेकाे ७१ दिनमै राजीनामा दिएकी हुन्।
उनी गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन्। नेकपा एमालेकी प्रदेश सांसद शाक्य एमाले विभाजनसँगै अल्पमतमा परेपछि राजीनामा दिन बाध्य भएकी हुन्। भदौ १ गते एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए।
एकीकृत समाजवादीमा १३ सांसद खुलेका छन्। १ सय ९ सदस्यीय प्रदेशसभामा एमाले विभाजन भएसँगै शाक्यले बहुमत गुमाएकी हुन्। उनको पक्षमा ४३ सांसद मात्र छन्। शाक्यले असोज २४ गते विश्वासको मत लिनको लागि प्रदेश सभामा पेश गरेकी थिइन्।