हेटौंडा- पाँच दलीय गठबन्धनले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ ।
उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड (क) बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदका लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए।
यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए। १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।
गठबन्धनबाट प्रदेश सरकारमा पहिलो चरणमा पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, कांग्रेसका उपनेता कृष्णलाल भडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिने तयारी गरेका छन् ।