गोरखा– गोरखाका स्थानीय तहहरूले विद्यार्थी भर्नालाई प्रभावकारी बनाउन विभिन्न योजनाहरू ल्याए । तर, ती योजनालाई लथालिङ्ग छोडेर जिल्लाको अजिरकोट गाउँपालिका, शिक्षा शाखाले भने मनलाग्दी गरेको छ । सामुदायिक विद्यालय सुधार गर्ने भन्दै पालिकाले विभिन्न योजना नीति तथा बजेट कार्यक्रम मार्फत ल्याए पनि कार्यान्वयन नहुँदा समस्या भएको हो ।
गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिने भन्दै चर्का भाषण गरेको भए पनि सामुदायिक शिक्षा सुधारमा गाउँपालिका शिक्षा शाखा कमजोर देखिएको हो । शिक्षा शाखामा गोरखा नगरपालिकामा सरुवा भइसकेका शिक्षा अधिकृत सिताराम पन्तका कारण संम्रग अजिरकोटका सामुदायिक विद्यालयले उल्लेखनीय सुधार गर्न नसकेका हुन् ।
उनै पन्तका कारण, गाउँपालिकाको वडा न २ खरिबोटको वलाङमा रहेको वलाङ आधारभूत विद्यालयका करिब ६३ विद्यार्थीको भविष्य अन्धकारमय बनेको छ । शिक्षक मिलान गर्न नसक्दा विद्यार्थीको भविष्य के हुने होला भन्दै अभिभावक चिन्ता प्रकट गरेका छन् । तर, शिक्षा अधिकृत पन्त भने, शिक्षक मिलानका लागि प्रक्रिया अघि बढेको बताउँछन् ।
‘वलाङमा मात्रै होइन अन्य विद्यालयमा पनि शिक्षक मिलानको काम बाँकी छ । हामीले भोलि (सोमबार) शिक्षा शाखाको बैठक राखेका छौँ । सोमबार या मंगलबार त्यहाँ शिक्षक पठाउने छौँ,’ उनले भने ‘आज (आइतबार) नै बैठक राख्ने योजना थियो । तर विविध कारणे राख्न सकिएन । सोमबार बैठक राखी सबै विद्यालयमा शिक्षक मिलान सक्छौँ ।’
गाउँपालिकामा २८ सामुदायिक विद्यालय छन् । ती सामुदायिक विद्यालयमा आधारभूत तहका १३१ दरबन्दी छन् । ती मध्ये १८ शिक्षकको गत साउनमा नै अन्तर पालिका सरुवा भएको थियो । तर, शिक्षा शाखाले समयमा नै विद्यालयको विद्यार्थी संख्या तथा शिक्षकको संख्या हेरी शिक्षक मिलान गर्नुपर्नेमा उदासीनता हुँदा वलाङ जस्ता विद्यालयले दुःख पाएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङ भने भौगोलिक रूपमा पछाडि रहेको वलाङ सधैँ हेप्राह प्रवृत्ति कायम रहेको बताउँछन् । भन्छन्-‘साउनमा स्थायी शिक्षक सरुवा भएर जानु भयो । असोजमा हेडसर जानु भयो । यहाँ भएका २ जना पनि जानुहुन्थ्यो होला । तर, उहाँहरू स्थानीय भएकाले जानु भएन। स्थानीय सरकारले वलाङलाई सधैँ हेप्राह प्रवृत्तिले हे¥याे ।’
उनका अनुसार गाउँपालिका शिक्षा शाखामा धेरै चोटि भन्दा पनि नभएपछि गाउँपालिका अध्यक्ष फणीन्द्र धितातलाई समेत शिक्षक चाहियो भन्दै गुनासो समेत गरेका थिए । अध्यक्ष धितालले छिटो शिक्षक मिलान गर्न निर्देशन दिएपछि शिक्षा शाखाको बैठक बस्न लागेको हो ।
अजिरकोटको उत्तरी क्षेत्रमा रहेको गोरखाको त्यो विद्यालय विकट ठाउँमा रहेको छ। गुरुङ र तामाङ जातीको बाहुल्य रहेको वलाङमा पाँच कक्षासम्म पढाइ हुन्छ । विद्यालयका तत्कालीन प्रधानाध्यापक कोषराज धिताल अनिवार्य अवकाशमा बसेपछि विद्यालयमा इसीडि, एक अस्थायी शिक्षक र कार्यालय सहयोगीको भरमा छ ।
विद्यालयका कार्यरत प्रधानाध्यापक धिताल असोज १५ गतेबाट नियमित अवकाशमा बसे । अन्तर जिल्ला सरुवा मागेर विद्यालयका स्थायी शिक्षक मनोज गुप्ता घर पायक जिल्लामा सरुवा भए । तर, वलाङमा कोही पनि जान नमानेको भन्दै गाउँपालिका शिक्षा शाखाले मनोमानी गरेको छ ।
जिल्लाका सामुदायिक विद्यालयमा गगनचुबुी भवन निर्माण भए पनि विद्यार्थी संंख्या नगण्य मात्रामा छन् ।