काठमाडाैं- आफ्नो १५ वर्षको कतार बसाईको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ ।
सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौर स्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक भब्य कार्यक्रम बिच पुस्तक सार्वजनिक गरे ।
उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कुटनैतिक, आर्थिकलगायतको सम्बन्धहरु र नेपाली कामदारले कतारलाई समृद्द बनाउन गरेको योगदानहरुको चर्चा गरेको बताए । कतारका’bout जान्न चाहनेलाई यो पुस्तक अति उपयोगी हुने उनको भनाई थियो । ‘कतार’ सुनिएको भन्दा यस पुस्तकमा वास्तविक कतार झल्केको छ ।’ उपराष्ट्रपति पुनले भने ।
लेखक मियाको बौद्धिकताको खुलेर प्रसंशा गरेका उनले आफुले पनि नेपाली श्रमिकको रगत पसिनाले निर्माण भएको बिकशित र समृद्ध कतार हेर्न चाहेको बताए ।
मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारीले लेखक मिया कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीका सुख दुखका साथी भएको टिप्पणी गर्दै लेखक मियाले विभिन्न समयमा अप्ठ्यारोमा परेकाहरुको उद्दार गरेको स्वयं आफुले कतारमा गएको बेला देखेको बताए ।
संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैनले यस पुस्तकले कुटनैतिक क्षेत्र तरङ्ग ल्याउने र वास्तवमै अब कतारले नेपाल बनाउन मार्ग प्रसस्त गर्ने धारणा राखे । मुस्लिम अगुवा ताज मोहम्मद मियाले मियाँ समाजको मात्रै नभएर राष्ट्रकै उदाहरणीय ब्यक्ति भएको बताए ।
ओमनबाट भर्खरै कार्यकाल सकेर फर्किएकी पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले यो पुस्तकले कतारका सत्य बोले पनि सबै अरब रास्ट्रहरुको समग्र चित्रण गरेको बताइन् ।
पुस्तकमा कतारमा रहेका नेपालीहरुको इतिहास, नेपाली श्रमिकको योगदान, कतारको इतिहास र बिस्तृत परिचय नेपाल कतार बिच संभावना भएका दर्जनौं बिषय समेटिएको लेखक मियाँले बताए ।
उनले प्राकृतिक रुपमा सबै कुराहरु भएर पनि बिकासमा केही नभए जस्तो नेपाल र प्राकृतिक रुपमा केही कुराहरु मात्र भएर पनि बिकासमा सबै भए जस्तो कतारमा सन २००७ अप्रिल पछि देखेका कुरालाई समेटेको बताए ।
कतार नेपालको असल मित्र र दुख सुखको हितैषी भएको र नेपाल पनि समृद्ध कतार निर्माणको सहयात्री एवं पार्टनर भएको हुनाले नेपाली श्रमिकले कतारको निर्माणमा दिएको योगदानको उच्च मुल्यांकन हुनु पर्ने बताए । पुस्तक नेपाल कतार जोड्ने महत,कडि भएको मियाको भनाई थियो ।
‘मैले देखेको कतार’ पुस्तकलाई घोस्ट राइटिङ नेपालले प्रकाशन गरेको छ भने यस पुस्तकको अरबिक र अंग्रेजी संस्करण पनि छिट्टै आउने अध्यक्ष कमल ढकालले जानकारी दिए ।
‘पुस्तक धेरै प्रकाशित गरियो तर यो पुस्तक अन्य भन्दा नितान्त भिन्न र फरक छ ।’ ढकालले भने । लेखकको यो ३७ औं कृति हो । कतारमाथी मात्रै उनले १० वटा पुस्तक प्रकाशन गरिसकेका छन् ।