गाेरखा- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान लागि गृहजिल्ला गोरखा पुगेका छन् । विकास र समृद्धिमा योगदान पुर्याउने लक्ष्यसहित सुज अभियानमा अध्यक्ष बाबुराम सोमबार गोरखा पुगेका हुन् ।
बाबुराम (२२ कात्तिक) देखि शुक्रबार (मंसीर ३) गतेसम्म सुज अभियान कार्यक्रमा सहभागी हुने जसपा गोरखाले जानकारी दिएको छ । सुज अभियान कार्यक्रम उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाबाहेक अन्य १० स्थानीय तहमा हुनेछ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले गोरखामा रहँदा जसपाका मात्र नभइ फरक पार्टीका नेता तथा कार्यकर्ता, बौद्धिक व्यक्तित्वहरू, विकास योजनसम्बद्ध मानिसहरूसँग भेटघाट गर्नेछन् । साथै भट्टराईले गोरखाका विभिन्न समस्या र पहिचानकोबारेमा उनीहरूसँग अन्तरसंवाद गरी सल्लाह सुझाव लिनेछन् ।
कहाँ कहिले कार्यक्रम ?
सोमबार २२ कात्तिक मा ध्याल्चोक, दर्बुङफाँट, ढाबे र फुजेलमा कार्यक्रम रहने छ । मंगलबार बालुवा, थुमि र मान्बुमा कार्यक्रम हुनेछ । जिल्ला कार्यसमिति गोरखाका अनुसार बुधबार लिदिङ, लापुबेंसी, खानिबेसीं र माछिखोलामा कार्यक्रम रहेको छ । बिहीबार लप्सिबोट, यामागाउँ, गुम्दा र लाप्राक कार्यक्रम हुनेछ ।
शुक्रबार लाप्राकबाट वारपाक जाने र त्यहीं कार्यक्रम हुने कार्यसमिति गोरखाको भनाइ छ । शनिबार वारपाकबाट सौरपानी, स्वाँरा र देउरालीमा कार्यक्रम आयोजना हुनेछ भने आइतबार सातदोबाटो, बगुवा, ताप्ने र नारेश्वरमा कार्यक्रम हुनेछ ।
त्यसैगरी कात्तिक ३० गते सोमबार सिरान्चोक, छेपेटार र पालुङटारमा कार्यक्रम हुने तालिका रहेको छ । मंसीर १ गते मंगलबार दुधपोखरी, मृर्गे, पाडेथारी, ओख्रोनी, सिचौर, केराबारीमा पनि सुज अभियान कार्यक्रम सञ्चालन हुनेछ ।
मंसीर २ गते भिरसिङ, धारापानी, भच्चेक, सिरानडाँडा र मुच्चोकमा कार्यक्रम हुनेछ । मंसीर ३ गते झ्याल्ला, बालुवामा स्वास्थ्य शिविर कार्यक्रम गरेर काठमाडौैं फर्किने कार्यक्रम रहेको छ ।