काठमाडौं- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् ।
इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर मदिरा र २ सय लिटर कच्चा पदार्थ बरामद गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर नष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् ।
‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु रक्सी पोख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु रक्सीलाई झैं विदेशी रक्सीलाई पोखेर देखाउन उनको चुनौती छ ।
प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल रक्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् ।