गोरखा– पूर्वप्रधानमन्त्री एवं जनता समाजवादव् पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू भोट माग्न नभइ जनताको वास्तविकता बुझ्न र समस्या समाधानको पहल गर्न घर-घरमा आएको बताएका छन् ।
जसपाको पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) अभियान अन्तरर्गत जिल्लाकाे शहिद लखन गाउँपालिकामा रहेका भट्टराईले यस्ताे बताएका हुन् ।
‘पुराना पार्टीबाट देशको विकास र समृद्धि सम्भव छैन । विकासको लागि सबैभन्दा पहिले राजनीति ठीक ठाउँमा आउनुपर्छ,’ भेटघाटको क्रममा उनले भने, ’जात र गोत्र त परिवर्तन हुन्छ । विकासको लागि पुरानै पार्टीमा बस्नुपर्छ भन्ने छैन । हाम्रो सोच बदल्न जरुरी छ ।’
अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुन नसक्ने उनको दाबी छ । तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा (नेकपा) विभाजनलाई उदाहरण दिएर भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गरे । भट्टराई नेकपा माओवादी केन्द्रबाट, नयाँ शक्ति हुँदै अहिले जसपामा छन् ।
दुई-दुई पटक विघटन भएर संसदले पुनर्जीवन पाएसँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको उनको भनाइ छ । तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथा व्यथा भने उस्तै रहेको बताएका छन् ।
नेता भट्टराईले दुई महिनाभित्रै बूढीगण्डकीको मोडालिटीबारे टुंगो लाग्ने बताएका छन् । आठ वर्ष बितिसक्दा पनि आयोजनाको मोडालिटीमै अल्झँदा आफू दुखी भएको उनले सुनाए । अस्थिर सरकारको कारण बुढीगण्डकीको यो हालत भएको उनको तर्क थियो ।
उनले उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा घरदैलो गर्ने कार्यक्रम रहेकाे छ । सोमबारदेखि सुरू भएको अभियान मंसिर ३ सम्म संचालन हुने बताइएको छ ।