गोरखा– गोरखा वाणिज्य संघ (चेम्बर अफ कमर्स) गोरखाले तिहारका समानका नाममा मनलाग्दी रकम असुलेको छ । चेम्बरले दशैंतिहार तथा छठका अवसरमा फुटपाथका व्यापार व्यवसाय गर्दै आएकासंग मनलाग्दी रकम असुल गरेको हो ।
गोरखा सन्देशलाई प्राप्त चेम्बर गोरखाको नगदी रसिद नम्बर १५८० र १५३६ मा तिहार समानका नाममा कानुन विपरीत र मनलाग्दी रकम असुल गरेको भेटिएको हो । चेम्बर आफैँ फुटपाथमा व्यापार व्यवसाय गर्न नहुने भन्दै आवाज उठाँएदै आएको भए पनि आफै नियम विपरीत पैसा असुल गरेको हो ।
चेम्बरले ती फुटपाथमा व्यापार गर्दै आएकाहरूसंग रसिद नम्बर १५८० मा तिन जनाको भन्दै रङ, भाइ मसलाका नाममा ६ हजार नियम विपरीत उठाएको छ । त्यस्तै रसिद नं १५३६ मा तिहार सामान भन्दै २ हजार उठाएको छ । याे सरासर कानुन विपरीत हो । चेम्बरको रसिदमा प्रवेश शुल्क, वार्षिक सदस्यता शुल्क, फर्म रजिस्ट्रेसन सिफारिस शुल्क, ई–पान शुल्क, स्थायी लेखा नम्बर सिफारिस शुल्क, उत्पत्तिको प्रमाण–प्रत्र र अन्य शुल्कको विवरण भए पनि नियम विपरीत फुटपाथमा व्यापार व्यवसाय गर्नेसंग पैसा असुल गरेको हो ।
चेम्बर अफ गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ भने संस्थागत गर्ने हेतुले प्रवेश शुल्क लिएको स्वीकार गर्छन् । ‘हामीले संस्थागत गर्नु पर्छ भन्दै सहयोग शुल्क लिएका हौँ,’ उनले भने ‘यसमा अन्य संस्थाहरूले राजनीति गर्न थाल्नुभयो ।’ गोरखामा उघाेग वाणिज्य संघ र चेम्बर अफ कमर्स छन् ।
अझ, ती फुटपाथमा व्यापार गर्नेबाट गोरखा नगरपालिकाले समेत अवैध तरिकाले पैसा उठाँउदैं आएको उनीहरू दाबी गर्छन् । ‘यहाँ व्यापार गर्दा हामीले उघाेग वाणिज्य, चेम्बर र गोरखा नगरपालिकालाई भनेको जति पैसा दिनुपर्छ,’शक्तिचाेकमा व्यापार गरिरहेका एकले नाम बताउने सर्तमा भने ‘यसमा चेम्बरले रसिद दियो । तर, नगरपालिका र उघाेग वाणिज्यले रसिद दिएन ।’
गोरखा नगरपालिकाले ठुलो धनराशि खर्च गर्दै फुटपाथ हटाउन खोजेको भए पनि व्यवस्थित बनाउन नसक्दा फुटपाथमा व्यापार गर्नेहरू बढेको उनीहरूको गुनासो छ । तर, चेम्बरका अध्यक्ष श्रेष्ठ भने पछिल्लो समय गोरखाका बजारमा फुटपाथमा व्यापार गर्नेहरू नभएको दाबी गर्छन् ।
‘पछिल्लो समय गोरखा बजार एरियामा फुटपाथमा व्यापार गर्नेहरू थिएनन् । एक्कासि तिहारको समयमा केही टोली फुटपाथमा देखिएका हुन्,’ उनी भन्छन् ‘उनीहरू देखिएपछि संस्थागत हिसाबले व्यापार व्यवसाय गरुन् गर्ने हेतुले दर्ता शुल्क भनेर लिएका हो ।’
गोरखा नगरपालिकाले जिल्लाका फुटपाथ हटाउने भन्दै नगरपालिकाको वडा न ६ र ७ को सिमानामा पर्ने वि.पी चोकबाट नयाँ बजारसम्मको खोल्सी वरपर पसल/कवल निर्माण गरेको छ । जग्गाको स्वामित्व यकिन नगरीकन पसल/कवल निर्माण गरेको भन्दै प्रश्न उठेपछि फुटपाथमा व्यापार गर्दै आएका विपन्न वर्ग अन्यौलता परेका छन्। उक्त जग्गाको स्वामित्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हो ।