काठमाडौं- मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो गएको छ । आइतबार दिउँसो मानापाथी हिमालबाट ठूलो हिमपहिरो खसेको मुस्ताङका प्रहरी प्रमुख डीएसपी रामकुमार दानीले जानकारी दिए ।
हिमपहिरोका कारण कुनै क्षति भएको वा नभएको पुष्टि भएको छैन । हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ ।
आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन।
तर हिमपहिरो झरेपछि आत्तिएर भाग्ने क्रममा विद्यार्थीसहित सातजना स्थानीय घाइते भएका छन्। उनीहरुलाई अहिले जोमसोमस्थित अस्पताल पठाइसकिएको प्रजिअ शर्माले बताएका छन्। ‘यहाँ अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन’, उनले भने, ‘तर चौंरीको चरन भएकाले त्यहाँ केही चौंरी परेको हुन सक्छ।’
‘उक्त हिमपहिरो धेरै लेदो माटोसहित खसेको छ’, उनले भने, ‘त्यहाँ सुरक्षाकर्मीहरु पठाइसकेका छौँ। घटनास्थल जोमसोमबाट १९ किलोमिटरको दूरीमा छ।’
घटनालगत्तै प्रजिअ शर्मासहितको टोली त्यहाँ पुगेको छ। ‘घटनास्थल जोमसोम नपुग्दै बेनीतर्फ १९ किलोमिटरको दूरीमा छ’, उनले भने, ‘हामी यहीँ छौँ, माथि सेतो हिउँ देखिएको छ भने तल आइपुग्दा माटोसहितको लेदो बगेको छ। यो लेदो यहाँको खोलामा मिसिएको छ।’