काठमाडौं- गोरखाका युवा नेता युवराज न्यौपानेले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा लड्ने भएका छन् । कांग्रेसमा नेतृत्व परिवर्तनको एजेण्डा उठेपनि अहिले देखिएका उम्मेदवारहरुले परिवर्तनको एजेण्डा आत्मसात गर्न नसकेको भन्दै न्यौपानेले सभापतिमा लड्ने बताएका हुन् ।
नेता न्यौपानेले छिट्टै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताए । गोरखा क्षेत्र नम्बर-१ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित न्यौपानेले पार्टीमा बारम्बार परीक्षण भइसकेका अनुहारलाई फेरी अवसर दिन नहुने बताए । ‘कांग्रेसको सभापतिमा दावी गर्ने हरेक नेता आजसम्म कुनै न कुनै पद र भूमिकामा हुनुहुन्छ । कांग्रेसमा नेतृत्व परिवर्तन भनेको त उहाँहरु समेतको परिवर्तन हो नि’, न्यौपानेले भने ।
वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताले युवा उमेरमै कांग्रेस स्थापना गरेको स्मरण गराउँदै न्यौपानेले अबपनि कांग्रेसमा युवा-पुस्ताले नै नेतृत्व गर्नुपर्ने बताए । आफ्नो उम्मेदवारीलाई हलुका ढंगले नलिन आग्रह गर्दै न्यौपानेले पार्टीभित्र नेतृत्व परिवर्तन, रुपान्तरण र नयाँ पुस्ताको सरोकार समेट्न आफूले उम्मेदवारी दिने बताए ।
‘परिणामबारे अहिले चर्चा नगरौ तर कांग्रेसको सभापतिमा प्रष्ट एजेण्डासहित मेरो उम्मेदवारी रहन्छ’, उनले भने । न्यौपानेले कांग्रेस विधान संशोधन गरेर महाधिवेशनभन्दा एक वर्ष अगाडि नै सभापतिको उम्मेदवारले मनोनयन दर्ता गर्ने र वर्षदिनसम्म आफ्नो नीति लिएर कार्यकर्तामाझ जाने व्यवस्था गर्नुपर्ने बताए ।