काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले चितवनमा प्रचण्डले निर्वाचन लडे भन्दैमा जिल्ला नै उनको नहुने बताएका छन्। एमालेले चितवनमा आफूलाई सिध्याउने लक्ष्य राखेर महाधिवेशन आयोजना गरेको अभिव्यक्ति दिइएको सन्दर्भमा ओलीले आफूहरुले महाधिवेशन आयोजना गरेको बताए।
‘हामीले हाम्रो पार्टीको महाधिवेशन गरिरहेका छौं। म प्रचण्डलाई आह्वान गर्न चाहन्छु, झापा आएर गर्नुस् न महाधिवेशन’, उनले भने, ‘कसैले कुनै जिल्लाबाट चुनाव लडेको छ भने जिल्लै उसको हुने र अरुले पाइला टेक्न नहुने भन्ने हुँदैन। म त्यो बाटो हिँडेर गएँ भने उहाँले भन्न बेर छैन, मलाई सिध्याउन यही बाटो हिँड्नुपर्छ?’
प्रचण्डले आफूहरुलाई नै नभनेको पनि हुनसक्ने भन्दै ओलीको व्यंग्य गरे। ‘उहाँले एमालेले नै भन्नुभएको छ कि छैन मलाई थाहा छैन। तर, हामीलाई होइन कि जस्तो पनि मलाई लाग्यो। किनकि सीपी मैनाली नेतृत्वको पार्टीले पनि चितवनमै महाधिवशेन गर्यो। त्यसकै भोलिपल्ट उहाँले केही मान्छेहरु मलाई सिध्याउन यहीँ आएर महाधिवेशन गर्नुपर्छ भनेर रिसाउनुभयो’, उनले भने।
प्रचण्डसँग आफूहरुको कुनै लिनुदिनु नभएको उनले प्रष्ट पारे। उनले आफ्नो पार्टी चलाउने र उनको निर्वाचत क्षेत्रमा गएर महाधिवेशन गरेको भन्ने लागेको भए आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न सुझाव दिए। एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।
सहमति नभए सबै पदमा चुनाव हुन्छ
ओलीले सहमति नजुटे दसौँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चुनावबाटै छानिने बताए । अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म चुनाव गर्ने ओलीले स्पष्ट पारेका हुन्। एमालेको १०–१२ चितवनमा हुने महाधिवेशनका लागि भीम रावललगायतका नेताले उम्मेदवारी घोषणा गरेपछि ओलीले सो प्रतिक्रिया दिएका हुन्। उनले सहमति केमा गर्न खोजेको भन्दै प्रश्न गरे।
‘पदाधिकारीमा सहमति खोज्नुहुन्छ कि अरूमा’, प्रश्न गर्दै उनले थपे, ‘मेरा कारणले कसैलाई दबाब दिन्न, दबाब हुने खालका कुनै काम हुँदैन। मेरो इच्छा त मिलेर जाने हो, कर लगाएर उठ्नु भन्नुपरोस् न, सहमति नभए सबैमा चुनाव हुन्छ, पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म।’
अध्यक्ष ओलीले विगतमा जो जो जहाँ भए पनि अहिले सबै एमाले नै भएको बताए। ‘हिजो को कता भन्ने हो, आज हामी सबै एकै ठाउँमा छौँ, अहिलेको व्यवस्थापन भनेको चुनाव भोट ल्याएर जित्ने हो, यसको पक्ष र त्यसको पक्ष भनिरहँदा पार्टी एकजुट हुँदैन, हाम्रोमा नेताको व्यवस्थापन मुख्य कुरा होइन’, ओलीले थपे ।
माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ
माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन । महाधिवेशनबाट अन्तरघुलित भएर अघि बढछौँ ।’