काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताएका छन्। सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि ठूलो प्रश्न उठेको भन्दै उनले आफूले सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने अवस्था देखेको बताए।
अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराप्रति संकेत गर्दै कुनै अमूक व्यक्तिले राजीनामा गर्दैमा न्यायिक क्षेत्रको प्रदूषण हट्ला? भनी प्रश्न उठाए। उनले अदालतभित्र सेटिङमा सहमत भएर फैसला गरिएको देखिएको, परमादेशको आधारमा आफूलाई हटाएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै आक्रोश समेत पोखे।
‘अहिले सर्वोच्च अदालत प्राङ्गणमा जे भइरहेको छ। सर्वोच्च अदालतभित्र जे भइरहेको छ। यो दुःखद् छ’, मंगलबार सम्पादकहरूसँगको अन्तर्क्रियामा अध्यक्ष ओलीले भने, ‘यो टाउको दुखेको औषधि नाइटोमा लाएजस्तो गरेर यसको उपचार हुनेवाला छैन। अमूक व्यक्ति फलानो हटिदिएर यो सिलसिला रोकिँदैन। म त देख्छु–सबैले राजीनामा दिनुपर्ने स्थिति छ।’
न्यायाधीशहरुप्रति यत्रो प्रश्न उठेपछि सामूहिक राजीनामा गर्नुपर्ने उनको भनाइ छ। ‘फलानोले राजीनामा गर्दा हुन्छ भन्ने जस्तो कुराले न्यायिक क्षेत्रको प्रदूषण हट्ला ? मलाई त्यस्तो लाग्दैन’, उनले भने. ‘लागेको क्यान्सर छ। कुखुराको अण्डा मन्छाउने? कुखुराको अण्डा मन्छाएर क्यान्सर निको हुन्छ?’ अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन् भन्ने चाहेको पनि स्पष्ट पारे।