चितवन- एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धाबाट अलग्याउनका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।
दसौं महाधिवशेनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई हालका महासचिव इश्वर पोखरेलका लागि सहज बनाउन प्रतिस्पर्धामा नआउन भनिएको हो ।
ओली निकट नेताहरूले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवार नबन्न दबाब दिइरहेको बताइएको छ । इश्वर पोखरेल लगायतका नेताहरूले नेम्वाङलाई पार्टीमा बसेर आगामी निर्वाचनपछि राष्ट्रपतिको तयारी गर्न भनेको स्रोतले जानकारी दियो ।
‘नेम्वाङलाई तपाईं राष्ट्रपति हुने मान्छे हो । राष्ट्रपति हुने मान्छेले कार्यकारिणीमा किन लड्नुहुन्छ । पार्टीमा बसेर राष्ट्रपतिको तयारी गर्नुपर्छु भन्नुभएको रहेछ’, नेम्वाङ निकट स्रोतले भन्यो ।
नेम्वाङले आफू वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने कुरा ओलीलाई जानकारी गराएको बताइएको छ । ‘हिजो तपाईंका लागि त्यति योगदान गरियो । पार्टीमा सहयोग गरियो अब मलाई सहयोग गर्नुस् भनेर नेम्वाङले अध्यक्षलाई भेटेर फर्किनुभएको छ’, ती नेताले भने ।
पार्टी नेतृत्वलाई एकताबद्ध बनाएर लैजानका लागि कसलाई के पदमा ल्याउने भन्नेबारे प्रस्ताव बन्दसत्रको हलमा राख्न पनि नेम्वाङले अध्यक्ष ओलीलाई आग्रह गरेको बताइएको छ । ओलीले भने त्यसको कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुनका लागि पोखरेलले ओलीको साथ पाएको बताइएको छ । तर, नेम्वाङ लगायतका नेताहरूले भने आफू पनि उम्मेदवार बन्ने अडान लिएपछि पोखरेल र ओली अप्ठ्यारोमा परेका छन् ।