चितवन- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले नेपाललाई हिन्दू राष्ट्र र राजतन्त्र पुनर्स्थापना गराउन लागिपरेको भारतीय कम्युनिष्ट पार्टीका नेता जोगिन्दर शर्माले आरोप लगाएका छन्।
नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्रमा नेता शर्माले नेपालमा हिन्दू राष्ट र राजतन्त्र फर्काउन भित्री रूपमा भाजपा सरकार लागिपरेको बताएका हुन्।
एमालेले उद्घाटन सत्रमा समय अभावका कारण विदेशी पाहुनालाई बन्द सत्रमा सम्बोधन गर्न दिएको हो। साथै उनले सन् २०२५ सम्ममा मोदी सरकारले भारतलाई पनि हिन्दू राष्ट्र बनाउने दाबी पनि गरे।
उनले भने, ‘फाँसीवाद आरआरएस (भारतको राष्ट्रिय स्वयंसेवक समाज) धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतराको रूपमा छ। सन् २०२५ सम्म भारतलाई पनि हिन्दू राष्ट्र बनाउने लक्ष्य लिएको छ।’
मोदी सरकारले भारतमा मात्र नभई दक्षिण एशियाबाट कम्युनिष्ट आन्दोलन समाप्त पार्ने कोसिस गरिरहेका उनले बताए। मोदीको तानाशाही सरकारले किसान आन्दोलनबारे बझ्नुपर्ने उनको तर्क थियो।