सौराहा– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू कति बाँच्ने हो थाहा नभएको बताएका छन्। चितवनमा जारी १०औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफू रोगी भएको भन्दै कार्यकर्ताहरुको जोस र जाँगरका कारण आफू केही वर्ष थप बाँच्नेमा ढुक्क रहेको दाबी गरे।
मृगौला प्रत्यारोपण र एपेण्डिसाइडको अप्रेसनसमेत गरेकाले उनले यस्तो बताएका हुन्। ‘मेरो शरीरमा धेरै पटक अप्रेसन गरेको छु। कति समय बाँच्छु थाहा छैन,’ उनले भने, ‘तर, आज म ढुक्क छु, तपाईंहरुलाई अगाडि देखेर म केही वर्ष बाँच्नेमा ढुक्क छु । ’
कार्यकर्ता र नेताहरुको अनुहार देखेर पार्टी र लोकतन्त्रको भविष्य सुरक्षित देखेको भन्दै समृद्धिको यात्रा सुरक्षित रुपमा अघि बढ्ने बताए। ‘यस्ता तेजतरार कार्यकर्ताको अध्यक्ष हुन पाएकोमा गर्व लाग्छ। समृद्धिको यात्रा सुरक्षित रुपमा अघि बढ्छ भनेर म ढुक्क भएर सुत्न सकेको छु, ’ उनले भने।