रुपन्देही- जनता समाजवादी पार्टी (जसपा)का संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् । जसपा रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा भट्टराईले दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका हुन् ।
‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो,’ उनले भने । भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए ।
अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको भनाई थियो । उनले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए । काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।
सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।