चितवन- नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।
चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।
एमालेको नयाँ नेतृत्व आज दिउँसो २ बजेसम्ममा घोषणा हुने दसौं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। ‘करिब २ हजार आसपास मत खसेको छ’, आयोगका अध्यक्ष विजय सुब्बाले भने ‘डिजिटल मतलाई कागजमा मुचुल्का उठाउछौं। सबै बुथको मत जोड्छौं। अनि परिणाम घोषणा गर्छाैं। अधिकतम लागे (दिउँसो) २ बजेसम्म घोषणा भइसक्छ।’
एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आज (मंगलबार) बिहानै ४ बजे विद्युतीय मतदान सुरु गरिएको थियो।
वरिष्ठ, उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध भएका छन् । सदस्यहरुका लागि पनि मतदान भएको छ । अब केही समयपछि मतगणना सुरु हुने जनाइएको छ ।